यस्ताे छ विस्तारित बैठकमा बाबुराम भट्टराईले पेश गरेकाे राजनीतिक प्रतिवेदन (पूर्णपाठ)



काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौंमा सुरु भएको छ । काठमाडौंको जडीबुटीस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको हो । वैठकमा राजनीतकि प्रतिवेदन पेश गर्दै भट्टराईले बैठकमा भट्टराईले पार्टी एकीकरणका तीन वर्षसम्म नेतृत्वले कांग्रेस र कम्युनिष्टको विकल्प बन्नेभन्दा क्षेत्रीय दलमै सीमित हुने चाहना राखेको बताएका छन् ।

उनले देशभर पार्टीको संगठन विस्तार गर्ने हुटहुटी नहुँदा पार्टी क्षेत्रीय दलकै रूपमा सीमित रहेको आरोप लगाएका छन् । जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बनेको भन्दै अध्यक्ष भट्टराईले पार्टी पुनर्गठन के कसरी गर्ने? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार भएको स्पष्ट पारेका छन् ।


उनले यो बिषयमाथि गम्भीर, सघन र विहंगम विचार, बिमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार बैठक सामू राखेका छन् । उनले छलफलका लागि आफूहरूसँग दुई वटा विकल्प रहेको बताएका छन्। राजनीतिक प्रतिवेदनमा भनिएको छ,‘छलफलका लागि हाम्रा सामु दुई विकल्प हुन सक्दछन। एक– नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, दुई–विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने।’

बैठकले निकालेका निष्कर्षको आधारमा पुनर्गठित पार्टीको घोषणा–पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने उनले बताएका छन् ।
प्रतिवेदना भनिएको छ, ‘पार्टीको कानूनी बैधता निरूपण गर्ने आफ्नै प्रक्रिया छ। त्यो काम निर्वाचन आयोग गर्दै गर्ला। पार्टीको आधिकारिक बैधता हामीसँग रहेको वा नरहेको– दुबै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक बैधता भने हामीसँग हुनेछ। समुन्नत संघीय समाजवादको सिद्धान्तमा आधारित प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको वैकल्पिक राष्ट्रिय राजनीतिक दल निर्माण गर्नु, यसको संगठनात्मक शक्ति र आन्दोलनमार्फत् जनताको पहिचान, अधिकार, समावेशीता, सुशासन, आर्थिक विकास, समृद्धि र समाजवादको अपेक्षा पूरा गर्नु जसपाको मूल ध्येय थियो। त्यो ध्येयबाट हामी किञ्चित विमुख भएका छैनौं। हुने पनि छैनौं ।’