![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
म्याग्दी । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५७० उद्योग र व्यावसायिक फर्म थप भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् ।
विसं २०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा फर्मबाट रु १६ लाख ८१ हजार ७५० राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख पोषनाथ शर्माले बताए । “पहिलेदेखिनै सञ्चालन भएका उद्योग तथा फर्म कानुनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारणले दर्ता सङ्ख्या बढेको हो”, उनले भने, “नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।”
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
दर्ता र नवीकरणका क्रममा उद्योगबाट रु नौ लाख ३०५, वाणिज्यतर्फ रु सात लाख ६९ हजार २४५ र अन्य शीर्षकमा रु १२ हजार २०० राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा ७६२ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । यसैगरी रु २६ लाख आठ हजार १२३ राजस्व सङ्कलन भएको थियो । नयाँ दर्ता भएका ३३८ मध्ये २०९ वटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २३३ उद्योग र ३०९ वाणिज्य फर्म नवीकरण भएका छन् ।
जिल्लामा हाल उद्योग दुई हजार ६६१ र व्यावसायिक फर्म एक हजार ५२८ वटा रहेका छन् । उद्योगमा एक हजार ५२८ ले रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा कूल रु एक करोड १३ लाख बजेटमध्ये रु ९३ लाख ६० हजार ११५ बजेट खर्च भएको छ । १७२ जनालाई उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गरेको छ ।
बेनपा–९ तोरीपानीमा २२, धौलागिरि–७ ताकममा २७, मालिका–५ देवीस्थानमा ३४, रघुगङ्गा–६ पाखापानीमा २७, अन्नपूर्ण–४ नारच्याङमा २७ र मङ्गला–२ बाबियाचौरमा ३५ जनालाई तालिम प्रदान गरिएको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले बताए । १३ जनालाई मेसिन उपकरण खरिद गर्न रु १५ लाख ९५ हजार अनुदान उपलब्ध गराएको छ । सात वटा पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि रु बीस लाख विनियोजन भएकोमा छवटा योजना सम्पन्न र रु १६ लाख ७९ हजार खर्च भएको छ । तीन ठाउँमा व्यवसाय दर्ता शिविर सञ्चालन र २० पटकमा २२२ फर्मको अनुगमन गरेको कार्यालयले जनाएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)