‘माधव नेपालले अर्को पार्टी खोलेर सम्भवतः जीवनको सबैभन्दा ठूलो गल्ती गर्नुभयो’-घनश्याम भुसाल



काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत भुसालले विगतमा ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशको सहारा लिएको आरोप लगाएका छन् । उनले नेपालमा दोहोरो नीति देखिएकोसमेत बताएका छन् ।


उनले भनेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिष्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’