माओवादी अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदै



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदैछन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा ‘प्रचण्ड’ आज नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन् । उनलाई भाजपाले नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ ।


भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेंट तय गरिएको छ।