मन्त्रिपरिषद हेरफेर : जसपाका तीन नयाँ मन्त्रीको शपथ ग्रहण आजै ४ बजे



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । जसपाको सिफारिसमा तीन जना मन्त्री हटाएर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

जसपाले पठाएका चारजना मन्त्रीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर कृषि मन्त्रीमा मृगेन्द्रकुमारसिंह यादव, वनमन्त्रीमा प्रदीप यादव र भौतिक मन्त्रीमा इस्तियाक राईलाई पठाइएको हो ।जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने परिवर्तन गरिएको छैन ।


जसपाले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर आइतबार नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने परिवर्तन गरिएको छैन ।

प्रधानमन्त्रीबाट नयाँ मन्त्रीको नाम सिफारिस भएपछि शपथ ग्रहणको तयारी सुरु गरिएको छ । शपथ आज ४ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।