मंसिरमा संघीय र प्रदेशको चुनाव हुनैपर्छ : ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिरमा हुनुपर्ने बताएका छन् ।

पार्टीको वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन तलमाथि हुन नदिनका लागि लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । ‘मंसिरमा चुनाव गराउनुपर्छ । यो संवैधानिक प्रश्न हो । यसलाई तलमाथि हुन दिनु हुँदैन,’ उनले भने ।


उनले आगामी निर्वाचनबाट सरकार गठनका लागि एमाले तयार हुनुपर्ने बताए । निर्वाचनबाट एमाले सरकारमा ल्याउने वातावरण बनाउन पनि ओलीले नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।

उनले परराष्ट्र सम्बन्धमा समातेको लय गठबन्धनले बिगारेकाले आगामी दिनमा त्यो लय समातेर अगाडि बढ्न एमालेको नेतृत्वमा सरकार हुनुपर्ने बताए । ओलीले राज्यका अंगहरु अपवित्र पाँच दलीय गठबन्धनका मतियार बनेका आरोप लगाएका छन् ।

उनले गठबन्धनले राज्यका अंगहरुलाई त्रास र आतंकभित्र राखेर दुरुपयोग गर्ने काम गरेको आरोप लगाए । उनले यसबीचमा भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्ने र जनतालाई सरकारले दिएका पीडालाई अन्त्य गर्नुपर्ने बताए । उनले राष्ट्रियता, विकास, सुशासनलाई उपयुक्त ढंगले बढाउन एमालेको सरकारले मात्र सक्ने बताए ।

अध्यक्ष ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु बताए । तत्कालीन नेकपामा रहेका बहुमत सचिवालय सदस्यहरूको छलफलप्रति लक्षित गर्दै ओलीले जुट्नका लागि नभएर फुट्नकै लागि अभियान चलाइएको जिकिर गरे ।

उनले भने, ‘आज सञ्चारमाध्यममा सुुन्नुभो होला एकताको अभियान । अर्को फुटका लागि फेरि एकता अभियान सुरु भो । जुट्नका लागि होइन ।’