भारतले जापानी पूर्व प्रधानमन्त्री आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने



पश्चिमी जापानको नारा शहरमा निर्वाचन अभियानका लागि भाषण गर्दै गर्दा शुक्रबार गोली हानी हत्या गरिएका जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको सम्मानमा भारतले जुलाई ९ (शनिबार) एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आबेको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै ट्वीटमा भनेका छन्, “जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेप्रति हार्दिक सम्मान प्रकट गर्दै भारतले ९ जुलाई २०२२ मा एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।” “मेरा एक प्रिय मित्रको दुःखद निधनप्रति स्तब्ध भएको छु । उहाँको निधनले मेरो पीडालाई मैले शब्दमा व्यक्त गर्न सकिरहेको छैन ।” शिन्जो आबे विश्वकै नेता तथा कुशल प्रशासक हुनुहुन्थ्यो । उहाँले जापान र विश्वलाई थप राम्रो बनाउन आफ्नो जीवन समर्पण गर्नुभयो ।”


यसैबीच भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले जापानका पूर्व प्रधानमन्त्री आवेलाई आफ्नो असल साथीको रुपमा स्मरण गर्नु भएको छ । उनले आफ्ना असल साथीको निधनले आफूलाई अत्यन्त मर्माहत गराएको उल्लेख गर्दै आवेप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । आफू प्रधानमन्त्री भएको बेला उहाँसँग धेरै काम गर्ने अवसर जुरेको र सधैँ सकारात्मक पाएको स्मरण सिंहले गर्नु भएको छ ।

भारतका लागि जापानका राजदूत सन्तोषी सुजुकी मार्फत् उनले पठाएको शोक वक्तव्यमा उनीसँगको सहकार्यमा भारत र जापानबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरेका छन् । जापानको पश्चिमी शहर नारामा चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि आक्रमण भएपछि उहाँलाई हतार हतार अस्पताल पु¥याइएको थियो ।

अधिकारीहरूलाई उद्धृत गर्दै प्रारम्भिक समाचारमा जापानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पूर्व जापानी प्रधानमन्त्रीलाई छातीमा गोली हानिएको बताएका थिए । तिनीहरूले उनको अवस्थालाई ‘कार्डियोपल्मोनरी अट्याक’ जस्तै देखिएको बताएका थिए । जापानी स्थानीय समय अनुसार दिउसो ५ः०३ बजे उहाँको निधन भएको थियो । उनको घाँटीमा दुईटा गोली लागेको थियो ।