भरतपुरका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता



चितवन । भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु गरिएको छ । महानगरले उपलब्ध गराएको रु २० लाखको अक्षयकोषबाट भत्ता दिन सुरु गरिएको हो । सो कोषमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले रु एक लाख थप गरी भत्ता वितरण थालिएको हो ।

कोषका लागि भरतपुर महानगरपालिकाले आज एक समारोहकाबीच रकम हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले महासङ्घका अध्यक्ष नारायण अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । महासङ्घले कोषमा जम्मा गर्नुपर्ने रकमबाट गत वैशाखदेखि असारसम्म तीन महिनाको चार जना पत्रकारलाई मासिक रु चार हजारका दरले हुन आउने रु १२ हजार जनही वितरण गरिएको छ ।


योग्यता पुगेका एक जना नेपाल बाहिर रहेकाले पछि सो रकम हस्तान्तरण गरिने महासङ्घले जनाएको छ । महासङ्घ र महानगरपालिका मिलेर भरतपुर महानगर ज्येष्ठ पत्रकार निवृत्तिभरण कार्यान्वयन कार्यविधि २०७८ बनाई सो कार्यविधिअनुसार कोष स्थापना गरी प्राप्त व्याजबाट भत्ता वितरण सुरु गरिएको हो । कार्यविधि बनाएर काम अघि बढाएको महानगरले जनाएको छ । लाभग्राही पत्रकार थपिएसँगै स्वतः महानगर र महासङ्घले कोषमा रकम थप गर्ने गरी कार्यविधि बनाइएको छ ।

कोष सञ्चालनका लागि महासङ्घका पदाधिकारी र महानगरका कर्मचारी रहेको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । रकम हस्तान्तरण गर्दै प्रमुख दाहालले महासङ्घसँग सहकार्य विगतमा झै आगामी दिनमा पनि गर्दै जाने बताइन् । उमेर घटाउने र कोषलाई वृद्धि गर्दै लग्ने विषयमा महानगरले छलफल गर्ने उनको भनाइ छ । उनले नेपालमानै पहिलोपटक पत्रकारिता क्षेत्रमा नमूना कार्य गरिएको बताइन् ।

महासङ्घले अघि बढाएको पत्रकार तालिम केन्द्रका लागि महानगरले दुई कठ्ठा जमिन संरक्षणका लागि दिएको भन्दै उनले तालिम केन्द्रका लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । यससँगै लेखनवृत्ति, क्षमता अभिवृद्धिलगायतका कार्यमा महानगरले सहकार्य गर्ने उनको भनाइ छ । प्रमुख भएसँगै अघिल्लो कार्यकालमा पत्रकारिता क्षेत्रलाई प्रवद्र्धन हुने गरी विभिन्न कार्यक्रम अघि बढाएको उनले बताइन् । यस कार्यकालमा पनि महासङ्घका प्रस्तावलाई सम्बोधन गरिने उनले जानकारी दिइन् ।

सोही अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले नेपालमै महानगरले महासङ्घसँग सहकार्य गरेर अनुकरणीय काम अघि बढाएको बताए । यसबाट दुई संस्थाबीचको सहकार्य थप मजबुत हुने उनको भनाइ छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले सबै प्रक्रिया पूरा गरेर महासङ्घसँग सहकार्य गरी भत्ता वितरण कार्यका लागि कोषमा जम्मा हुने गरी रकम वितरण गरेको बताए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्यालले देशमानै नमूना काम यहाँको महासङ्घ र महानगरले गरेको भन्दै प्रशंसा गरिन् । महासङ्घका अध्यक्ष अधिकारीले संस्थागतरुपमा महासङ्घबाट आएका प्रस्ताव अहिलेसम्म फर्किनु नपरेको भन्दै अब अगाडि सारिएका आयोजनामा सहकार्य गरिदिन आग्रह गरे ।

साेही अवसरमा ६० वर्ष कटेका ज्येष्ठ पत्रकार रेशम वीरही, डिल्लिराम पोख्रेल, मोहोन पोख्रेल र महेन्द्रराज श्रेष्ठलाई तीन महिनाको निवृत्तिभरण रकमबापत रु १२ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो । निवृत्तिभरण रकम बुझेसँगै वीरहीले पत्रकारको योगदान हालसम्म राज्यले गर्न नसकेको बताए । यो कार्यको थालनी महत्वपूर्ण भएको उनको भनाइ थियो ।

भत्ता वितरण कार्यविधिअनुसार महिला, दलित, अपाङ्ग र अल्पसङ्ख्यकका लागि ५५ वर्ष र अन्यको हकमा ६० वर्ष कटेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारलाई यो कोषबाट भत्ता वितरण गर्ने व्यवस्था रहेको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउनयोग्य उमेर भएपछि यो कोषबाट भत्ता पाइने छैन । यससँगै नेपाल सरकारका कुनै पनि निकायका नियमित सुविधा लिनेलाई कोषमा समावेश गरिने छैन ।