बुढीगंगाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा पनि एमालेकी माया कुमारी खड्का (कुवँर) विजयी भएका हुन् । बानियाँ ४ हजार ७७७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रङ्गबहादुर खातीले ३ हजार ७७४ मत ल्याए।

त्यस्तै, उपमेयरमा कुवँरले ४ हजार ७२७ मत ल्याएकी छन्। उनकी प्रतिस्पर्धी काँग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याइन्। मेयरमा १ हजार ४ र उपमेयरमा ९७२ मतको फरक छ। १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।


१० वटा वडा रहेको बुढीगंगाका ७ वडामा नेकपा एमाले र ३ वडामा काँग्रेसले जितेको छ। वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यस्तै वडा नम्बर ४, ७ र ८ मा नेपाली काँग्रेस विजयी भएको छ। २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ। यहाँ वैशाख ३० मा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो ।