बालबालिकाका लागि थप २३ लाख मात्रा कोरोना खोप काठमाडौँ आइपुग्यो



काठमाडौँ । पाँचदेखि ११ वर्ष उमेर समूहका बालिकाबालिका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय डोज खोप नेपाल आइपुगेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

कतार एयरको उडानमार्फत आइतबार बिहान खोप आएको र यो खोप केही दिनअघि पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोजको रुपमा खोप प्रयोग गरिनेछ ।


दूतावासले भनेको छ, ‘५–११ वर्षका बालबालिकाका लागि अमेरिकी सरकारद्वारा सहयोगस्वरूप उपलब्ध गराएको थप २,२९९,२०० फाइजर पेडियाट्रिक भ्याक्सिनको खोप आज नेपाल आइपुगेको छ! नेपालको कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन पाउँदा हामी गर्व गर्छौं। हाम्रो विश्वव्यापी खोप प्रयासहरूले जीवन बचाउँछन् र महामारीको अन्त्य गर्न मद्दत गर्नेछन् ।’

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ । यसअघि कोभ्याक्समार्फत २२ लाख डोज खोप प्राप्त गरेको थियो ।