बाघको बासस्थान व्यवस्थापन गर्न आवश्यक : प्रधानमन्त्री देउवा



काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन् ।

विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गरे । बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढ्ने बताए ।


“बाघको संरक्षण वृद्धि सुखद, नेपालले सन् २०१० रुसको सेन्ट पिटर्सवर्गमा गरिएको सम्मेलनको महत्वाकाङ्क्षी योजनाअनुसार लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानवबस्तीमा पसेर दुःखद् घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको छ, जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ”, उनले भने ।

बाघको बासस्थान व्यवस्थापन गरेर स्थानीयवासीको जीविकोपार्जन सुधार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए। बाघ संरक्षणका चुनौती अन्त्य गर्न थप अध्ययन अनुसन्धान आवश्यक भएको भनाइ उनले राखे । संरक्षित क्षेत्र वरपरको बस्तीलाई सुरक्षित गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले बताए ।

बाघको छला, हड्डीलगायतका कारण चोरी सिकारी हुनसक्ने भएकाले संरक्षणका चुनौती सामना गर्ने गरी तयारी गर्न मन्त्रालयलगायत सरोकार निकायलाई उनले निर्देशन दिए । उनले बाघ संरक्षणका लागि कर्मचारी वृद्धि, क्षमता वृद्धि, अन्तर्राष्टिय सहायता संस्थासँग समन्वय आवश्यक भएको धारणा राखे । हालै सरकारले वन्यजन्तु मैत्री पूर्वाधार निर्देशिका जारी गरेकाले त्यसअनुसार काम हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गरे ।