फेरि बढ्यो सार्वजनिक यातायातको भाडा



काठमाडौँ । सरकारले वाग्मती प्रदेश अन्तर्गतका जिल्लाभित्र सञ्चालित सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । वाग्मती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि लागू हुनेगरी भाडा बढाएको हो । यसअघि बढाएको चार महिनामै पुनः प्रदेश सरकारले भाडा वृद्धि गरेको हो ।

किलोमिटरका आधारमा प्रदेशभित्र सञ्चालित सवारी साधनमा भाडा वृद्धि गरिएको हो । प्रदेश र काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन चढ्ने बित्तिकै २० रुपैयाँ भाडा तिर्नुपर्ने छ । प्रदेश सरकारले अहिले भाडा वृद्धि गरेपनि उपत्यकामा सञ्चालित सार्वजनिक सवारीले भने पहिल्यै यात्रुसँग बढी भाडा उठाउँदै आएका थिए ।


वाग्मती प्रदेश सरकारले वैशाखमा लागू गरेको भाडादरमा अहिले ८.३९ प्रतिशत वृद्धि गरेको हो । अब उपत्यका तथा वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा ५ किलोमिटरसम्मको दूरीमा २० रुपैयाँ रहेको छ । ५ देखि १० किलोमिटरको दूरीमा पहिले २५ रुपैयाँ भाडा रहेकोमा अहिले २७ रुपैयाँ बनाइएको छ ।

१० देखि १५ किलोमिटर दूरीमा ३० रुपैयाँ भाडा रहेकोमा अहिले बढाएर ३२ रुपैयाँ पुर्याइएको छ । पहिला कायम गरिएको भाडामा दूरीअनुसार दुई रुपैयाँ बढाइएको हो ।

त्यस्तै मालबहाक सवारी साधनको प्रतिकिलोमिटर प्रतिटनमा १३.४५ रुपैयाँ भाडा रहेकोमा अहिले बढाएर १५.०५ रुपैयाँ पुर्याइएको छ । विद्युतीय माध्यमबाट सञ्चालित यात्रुबहाक सवारी साधन र ट्याक्सीको हकमा बैशाखमै लागू गरिएको भाडादर नै यथावत राखिएको वाग्मती प्रदेश सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख छ ।