पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग



पोखरा । पोखरा महानगरपालिकाले वडा नम्बर ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन् । भरतपोखरीवासी नागरिकहरूको संयोजनमा शुक्रबार ‘भरतपोखरीमा ल्यान्डफिल्डः कति ठीक ? कति बेठिक ?’ शीर्षकमा आयोजित छलफल कार्यक्रमका वक्ताले सरोकारवालाबीच छलफल नै नगरी गरिएको भरतपोखरीमा ल्यान्डफिल्ड साइड राख्ने निर्णय तुरुन्त खारेजी गर्न माग गरेका छन् ।

कार्यक्रम संयोजक हेमबहादुर थापा पराजुलीले सरोकारवालाबीच कुनै छलफल नगरी महानगरपालिकाको बजेटमा वडा नम्बर ३३ टिमुरपाटामा ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि १० करोड विनियोजन गरिएको विषयप्रति आफूहरूको गम्भीर रुपमा ध्यानाकृष्ट भएको बताए ।


भौगोलिक अवस्थितिअनुसार आवास क्षेत्रका लागि पोखराकै उत्कृष्टस्थलका रुपमा रहेको भरतपोखरी पर्यटकीय गन्तव्यसमेत भएकोे बताउँदै उनले यस स्थानमा कुनै पनि रुपमा ल्यान्डफिल्ड साइट राख्न स्थानीयवासी तयार नरहेको स्पष्ट पारे । पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने सम्बन्धमा आफूहरू नेतृत्वमा आउनुपूर्व अघिल्लो स्थानीय सरकारको पालामा महानगर कार्यपालिकाको ५५औँ बैठकले निर्णय गरेको जानकारी गराए ।

यो विषय आम वडावासीको चासो र सरोकारको विषय भएको बताउँदै उहाँले जनताको भावनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे । साबिक भरतपोखरी गाउँ विकास समितिका पूर्वअध्यक्ष यज्ञप्रसाद अधिकारी (ठूला)ले फोहोरसँग विकास साट्नेमा आफूहरू सहमत नरहेको बताउँदै यस निर्णयलाई खारेज गर्न माग गरे ।

साबिक भरतपोखरी गाविसका पूर्वअध्यक्ष गोपाल पुनले ल्यान्डफिल्ड साइट राख्ने निर्णयको सबै वडावासीले सामूहिक रुपमा विरोध गर्ने बताए । सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्यले ल्यान्डफिल्ड साइट राख्ने जस्तो निर्णयमा सरोकारावालाबीच छलफल नै नगरिनु दुःखद भएको बताउँदै यसका विरुद्धमा सबै एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।

समाजसेवी पीताम्बर पौडेलले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गराउन यहाँका जनप्रतिनिधिको जागरुकता आवश्यक भएको बताए । समाजसेवी चन्द्रप्रसाद पौडेलले भरतपोखरीमा ल्यान्डफिल्ड राख्ने निर्णयका विरुद्धमा यो वा त्यो दल नभनी सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

युवा श्रीधर पौडेलले पर्यटनका धेरै सम्भावना रहेको भरतपोखरीमा ल्यान्डफिल्ड साइट बनाउने निर्णय अविवेकी भएको उल्लेख गरे । पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्यले ल्यान्डफिल्ड साइटको व्यवस्थापनतर्फ ध्यान दिनु जरुरी रहेको बताए ।

छलफलमा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बराल, यज्ञप्रसाद अधिकारी (साना), रमेशराज आचार्य, नीलराज आचार्य, शान्ति पाध्या लगायतले भरतपोखरीमा कुनै पनि दृष्टिकोणबाट ल्यान्डफिल्ड साइट राख्नु उपयुक्त नदेखिएको बताए । भेलाले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै यस सम्बन्धमा विस्तृत छलफलका लागि वडाका जनप्रतिनिधिमार्फत सबै पक्षीय बृहद् भेला गर्ने निर्णय गरेको छ ।