पार्टी घोषणाको चार दिनमै वामदेव गौतम निष्कासित 



काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पार्टीबाट निष्कासित भएका छन् ।

पार्टीमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका अध्यक्षहरूले गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए ।


शनिबार राजधानीको एक पार्टी प्यालेसमा बसेको उक्त चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सो अभियानका सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

११ सदस्यीय सचिवालयमा कृष्णगोपाल बञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर बञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।

उनीहरूले गौतममाथि पाँचबुँदे आरोप लगाएका छन् ।

गौतममाथि लगाइएको ५ आरोप-
१.सांगठनिक अराजकता, निरंकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको । 
२. अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको ।
३.जालझेल, छलछाम, षडयन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।
४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको ।
५. सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गरिएकोमा संयोजक कमरेड वामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरित अभियानलाई सत्ता, शक्ति पद प्राप्तिका लागि बार्गेनिङको माध्यम बनाएको ।