काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी विधानअनुरुप संचालन गर्न आग्रह गरेका छन् । जारी पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार महामन्त्री थापाले पार्टी सभापति देउवाले विधानबमोजिम काम गर्न नसकेको आरोप लगाएका छन् । उनले सभापतिले विधानबमोजिम काम नगर्दा आफूहरूमाथि दोष आएको बताए ।
थापाको भनाई उदृत गर्दै एक नेताले भने, ‘छ महिनाभित्र विधानबमोजिम सभापतिले काम गर्न सक्नुभएन। सभापतिजस्तै हामी पनि महामन्त्री जितेर आएको हो तर विधान कार्यान्वयन नहुँदा अपजस हामीमाथि पनि आउन थाल्यो ।’
उनले विधान कार्यान्वयन गरौं भनेर सभापतिलाई पटक–पटक भेटेको पनि बताए । उनले भने,‘विधान कार्यान्वयन गरौं भनेर हामीले सभापतिलाई पटक–पटक भेट्यौं, भन्यौं। विधानअनुसार अघि बढौं न भन्दा सभापतिलाई असहयोग गरेको भन्न हुन्न । सभापति बलियो बनाउन र विधान अनुसार पार्टी चलाउन हामी लागिपरेका छौं। तर सभापति हाम्रो सल्लाहबिनै कहिलेकाहीँ अघि बढिदिनुहुन्छ।’ नेविसंघलगायत भ्रातृ संस्थामा सभापति चयन गर्दा पनि आफूहरूसँग परामर्श नलिएको उनले बताए।
त्यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले आगामी चुनावमा केही निर्वाचन क्षेत्रमा ’प्राइमरी’ मार्फत् उम्मेदवार छान्न प्रस्ताव गरेका छन् । उनले प्राइमरी इलेक्सनको पाइलट प्रोजेक्टको प्रस्ताव गरेका हुन् ।
उनले १६५ मध्ये १५ जति र ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न सुझाव दिएका छन्। यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा कांग्रेस अरूभन्दा एक कदम अघि हुने उनले विश्वास व्यक्त गरे। शर्माले नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ जय, जगदीश हरे गरेर घण्टी नबजाउन अनुरोध गरेका छन्।
उनले एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउने गरी बोल्नु राजनीतिको विसंगतिको पाटो भएको पनि बताए। उनले भने, ‘नेतृत्वको प्रशंसा गर्ने नाममा– ॐ , जय जगदीश हरे गरेर घण्टी नबजाऔं। अनि आलोचना गर्ने नाममा, डन्डी पनि नचलाऔं।’