पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु



पर्वत । पर्वतमा करेन्ट लागेर एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए । उनान्चालीस वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।


मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा ल्याइएको छ । कपडा सुकाउने तारमा विद्युत्को करेन्ट प्रवाह भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती छन् ।