धनगढीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



कैलाली । कैलालीमा धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा आज मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ बस्ने अन्दाजी ५५ वर्षीय नेत्रप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ का २२ वर्षीय सौजन खड्काले चलाएको से३प ९९० नंको मोटरसाइकलले पैदलयात्री पन्तलाई ठक्कर दिएको थियो । घाइते पन्तको उपचारका क्रममा माया मेट्रो अस्पतालमा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोटरसाइकल चालक खड्का र पछाडि सवार बैतडी दशरथचन्द–८ बस्ने २२ वर्षीय रामचन्द्र शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।