दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल



ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्गठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालले आयोजना गरेको ‘१० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह’मा आज उनले सार्वजनिक संस्थामा आवद्ध व्यक्तिले कर्मचारीका साथै पार्टीको एक कार्यकर्ताको समेत जिम्मेवारीलाई नभुल्न आग्रह गरे ।

उनले भने, “तपाईँहरू एमाले पार्टीको कार्यकर्तासमेत रहँदा कर्मचारीको जिम्मेवारीलाई पनि नबिर्सिनुहोस् । एक व्यक्तिले दोहोरो भूमिका निर्वाह गर्दा धेरै कुराको ज्ञान आर्जन गर्न सक्छ ।” सो दोहोरो भूमिकामा रहेर कर्मचारीले हाल सार्वजनिक संस्थामा देखिएको भनिने सङ्कट हटाउन जरुरी रहेको उनले जिकिर गरे ।


कर्मचारीले पार्टीका साथै आफ्ना काममा समेत मध्यनजर गर्दा सङ्गठन मर्नबाट जोगिने वरिष्ठ उपाध्यक्षको ठहर छ । विसं २०७२ को महाभूकम्पमा ध्वस्त भएका २७ हजार मानिसका घर–टहरा बनाउने पार्टी एमाले रहेको दाबी गर्दै यस पार्टी विचारका आधारमा अघि बढ्ने भएकाले अझै शक्ति निर्माण गर्न चाहने धारणा व्यक्त गरे ।

सङ्गठनका सचिव रामशरण अधिकारीले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आफूहरूले सो संस्था गठन गरेको भनाइ राखे । सङ्गठनका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार कुलबहादुर आचार्य, निजामति कर्मचारी सङ्गठनका उपाध्यक्ष प्रभास शाह, पेशागत जिल्ला कमिटीका अध्यक्ष उमेश ढकाल, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली र एमालेका केन्द्रीय सदस्य एवं पेशागत महासङ्घका राष्ट्रिय संयोजक बाबुराम थापाले सङ्गठनमा रहेका व्यक्तिले पार्टीका साथै आ–आफ्ना कामको जिम्मेवारी बुझ्दै अघि बढ्ने विश्वास लिएको भनाइ राखेका थिए ।
 
महासङ्घका राष्ट्रिय सहसंयोजक दयाराम बस्यालले पेशागत हकहित तथा शुद्धीकरण गर्न सङ्गठन स्थापना भएको जानकारी गराए । उक्त कार्यक्रममा मुलुकमा सार्वजनिक रूपमा स्थापना भएका ३१ घटक युनियनका पदाधिकारीको उपस्थिति थियो ।