दोर्दी–१ आयोजनाको निर्माणकार्य अन्तिम चरणमा



लमजुङ । निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिमचरणमा पुगेको छ । दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरेको आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख उज्जवल सिलवालले बताए । 

आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । नाली बनाउने, केही भागमा सफा गर्ने कार्य बाँकी छ । यद्यपि बिजुली उत्पादनमाा यी कामले असर गर्दैन । तर, २२० केभीको राष्ट्रिय प्रशारण लाइन बनिनसक्दा परीक्षण गरेर बिजुली उत्पादन गर्न नसक्दा समस्या भइरहेको छ ।


‘सम्बन्धित निकायसँग बुझ्दा एक हप्ताभित्र प्रशारण लाइनको काम सम्पन्न हुने भनिएको छ,’ सिलवालले भने,  ‘यदि एक हप्ताभित्रमा सम्पन्न भएमा सोपश्चात् हामी १० दिन जति बिजुली उत्पादन परीक्षण थाल्छौं । त्यसमा सफल भएमा साउनबाटै बिजुली उत्पादन हुन्छ ।’

मर्स्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइनको उदिपुरदेखि मध्यमर्स्याङ्दी खण्डको छ किलोमिटर खण्डमा तार तान्ने काम सम्पन्न भइनसक्दा बिजुली परीक्षण गर्न नसकिएको आयोजनाले जनाएको छ । 

आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । यस आयोजनाले पेनस्टक पाइप, बाँध, आयोजनाको ७१५ मिटर लामो अर्को पेनस्टक पाइप जडानको काम, विद्युतगृहको सिभिल संरचनाको काम पनि सम्पन्न भइसकेको जनाएको छ । 

त्यस्तै २.५ किलोमिटर मुख्य सुरुङको ढलान गर्ने, सफा गर्नेलगायत फिनीसिङको काम, बाँध क्षेत्रको सिभिल निर्माणकार्य सबै सम्पन्न भएको आयोजना प्रमुख सिलवालको भनाइ छ । 

विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो । दोर्दी खोलामा आएको बाढी, कोरोना संक्रमणका कारण लकडाउनलगायत विविध कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरिँदै आएको थियो । 

२ अर्ब २९ करोडको लगानीमा निर्माण सक्ने रहे पनि आयोजनाको निर्माण अवधि लम्बिँदा उक्त रकमभन्दा करिब ३० करोड रुपैयाँ बढी लाग्ने अनुमान आयोजनाको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।