देवघाटलाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल



दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटधामलाई धार्मिक पर्यटनको गन्तव्यवस्थल बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना गरेको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देवघाटधामको विशिष्ट महत्व रहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रबिन्दुको रुपमा विकास गर्नुपर्ने बताए ।


वरिष्ठ नेता पौडेलले देवघाटधामको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । देवघाटको समस्याका बारेमा हामी सबै अवगत रहेको भन्दै वरिष्ठ नेता पौडेलले यो क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।

देश विकास मुख्य उद्देश्य राखी आफूले राजनीति सुरु गरेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, “तनहुँमा मेरो नेतृत्वमा धेरै विकास योजना सुरु भएका छन्, त्यसलाई पूरा गराउने जिम्मेवारी पनि मेरो हो । त्यसतर्फ म कटिबद्ध भएर लागेको छु ।”

उनले अधुरा योजनालाई पूरा गराउनेतर्फ मुख्य ध्यान रहेको बताए । वरिष्ठ नेता पौडेलले गठबन्धन गरेरै चुनावमा जाने बताए । गठबन्धन देशको आवश्यकता भएको उनको भनाइ थियो ।