देउवा सरकारको १ वर्षे उपलब्धि : किसानलाई पेन्सनदेखि ६८ वर्षमै वृद्धाभत्तासम्म (पूर्णपाठ)



काठमाडौँ । सरकारले एक वर्षको उपलब्धी सार्वजनिक गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले एकवर्ष भरी सरकारले गरेका ४२ कामको विवरण सार्वजनिक गरेको हो ।

सरकारले पहिलो उपलब्धिका रुपमा केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतीमा अघि बढाउने कामलाई लिएको छ । त्यस्तै स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न गरिएको, नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउन सबै नागरिकलाई पूर्ण खोप दिलाएको लगायत रहेका छन् ।


संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरिएको पनि विवरणमा उल्लेख छ । विवरणमा वृद्धाभत्ताको उमेर घटाइएको देखि क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको विषय पनि उल्लेख छ ।

त्यस्तै स्यानिटरी प्याड आयातमा बजेटमार्फत भन्सार छुट दिने निर्णय गरिएको विषयलाई पनि उपलब्धीको रुपमा उल्लेख गरिएको छ। भूमि आयोग गठन गगरी भुमिहिन तथा सुकुम्बासी पहिचान र पूर्जा वितरणको थालनी गरिएको पनि विवरणमा उल्लेख छ।