थारू संस्कृति समृद्ध छ : सहरी विकासमन्त्री चौधरी



काठमाडाैँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले थारू भाषा, थारू संस्कृति निकै समृद्ध रहेको बताएका छन् । ठुम्रार साहित्यिक र साङ्गीतिक बखेरीको ९१औँ शृङ्खलाका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका वेषभूषाका साथै लोपोन्मुख बन्दै गएका सांस्कृतिक पक्षको संरक्षण गर्नुपर्ने बताए ।

थारू जातिका अधिकांश समुदाय मेहेनती, इमानदार र लगनशील रहेको बताउँदै उनले उनीहरूले अब राजनीतिका साथै राज्यका सबै तहमा प्रतिनिधित्व गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए । राज्यको मूल प्रवाहमा आउन नसकेका सबै जाति समुदायका आर्थिक, सामाजिक रुपान्तरणका लागि स्थानीय तहले लक्षित कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।


लेखक एवं पत्रकार कृष्णराज सर्वहारीले कृषि पेशामा संलग्न उनीहरू विभिन्न कारणले शिक्षाको महत्वलाई कम प्राथमिकता दिएकाले शैक्षिक क्षेत्रमा उपस्थिति न्यून रहेको बताउँदै थारू साहित्यका महत्वबारे प्रकाश पारे । उनले थारू भाषाका आफ्ना रचनासमेत बाचन गरे । देशैभरिका प्रतिनिधि थारू लेखक तथा कलाकारको उपस्थिति रहेको उक्त कार्यक्रममा राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्यले थारू संस्कृतिलाई थप प्रवद्र्धन गर्नुपर्ने विचार व्यक्त गरे ।