डढेलोमा घर जलेपछि एथेन्समा वृद्धद्वारा आफैलाई गोली हानेर आत्महत्या



राजधानी नगरको बाहिर जङ्गल नजिक रहेको आफ्नो घर डढेलोमा जलेको देखेर एकजना वृद्धले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । आफ्नो घर आगोको ज्वालाले ध्वस्त पारेको देखेपछि ती वृद्धले आत्महत्या गरेका मृतकका आफन्त, उनका छिमेकी र स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ ।

मङ्गलबार रातिको डढेलोले आवास, व्यवसाय र अन्य केही भवन ध्वस्त पारेको तथा केही क्षतिग्रस्त भएका स्थानीय अधिकारीहरूले बताएका छन् । कैयौँ नागरिक डढेलोबाट विस्थापित भएका छन् । तीव्र गतिमा चलेको हावाका कारण आगो निभाउन कठिनाई भएको थियो । आगो निभाउन चारसय ८५ वटा दमकल परिचालन गरिएको थियो ।


सेना, प्रहरी र स्वयम्सेवकहरू पनि आगो निभाउन परिचालन गरिएका थिए । आज बिहानैदेखि विमान र हेलिकप्टर पनि आगो निभाउन परिचालन भएका थिए । हरेक वर्ष गर्मी याममा ग्रीसले डढेलोको सामना गर्दै आएको छ ।

गत वर्ष शृङ्खलाबद्ध रूपमा देशका विभिन्न भागमा फैलिएको डढेलोले एक हजार हेक्टर वन र कृषिभूमिमा क्षति भएको थियो भने करिब दुई हजार घर एवम् व्यापार– व्यवसायमा क्षति भएको थियो । सन् २०१८ मा राजधानी एथेन्स नजिक अवस्थित माटीको तटीय रिसोर्टमा आगो लाग्दा एकसय दुई जनाको मृत्यु भएको थियो ।