जापानको माथिल्लो सदनका लागि मतदान



आबेको गोलीकाण्डको आघात, उदासी र डरबाटमुक्त भइनसकेका मतदाताले बिना उत्साह जापानको माथिल्लो सदनको निर्वाचनमा मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेको चुनावी प्रचारका क्रममा गोली हानेर हत्या भएको घटनाको छायामा भएको मतदानबाट नेता आबेको सत्तारुढ दल विजययात्रातर्फ अग्रसर भएको देखिएको छ । पश्चिमी जापानको प्रहरीले आबेका आरोपित हत्यारालाई थप अनुसन्धानको लागि स्थानीय अभियोजनकर्ताको कार्यालयमा पठाएको छ ।


क्षेत्रीय प्रहरी अधिकारीले सुरक्षा त्रुटिका कारण आक्रमणकारी गोली प्रहार गर्न सफल भएको स्वीकार गरेका छन् । आबेलाई शुक्रबार नारामा गोली हानेका तेत्सुया यामागामीले नेता आबेको राजनीतिक दृष्टिकोणसँग आफ्नो विमति नरहेको तर आबे संलग्न सङ्गठनको अफवाहका कारण घटना भएको अभियोजन अधिकारीलाई बताएका छन् ।

आबे संलग्न सङ्गठनले धार्मिक समूहप्रति घृणाको विकास गरेको आरोप उनले लगाएका छन् । आफ्नी आमाको आस्था रहेको उक्त धार्मिक सङ्गठनका कारण उनको परिवारिक व्यवसाय तहसनहस भएको अभियुक्तले बताएको जनाइएको छ ।