जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइने



काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको सरकारले घोर भर्त्सना समेत गरेको छ ।‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ। उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार हत्या भएको हो । स्थानीय समयअनुसार बिहान साढे ११ बजेतिर दक्षिणपश्चिम जापानको नारा सहरमा आबेमाथि गोली हानिएको थियो । आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेको लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका आबेमाथि गोली हानिएको थियो।