गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन



गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो । भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो । दोस्रो गोली उनको गर्धनमा लागेको थियो ।

गोली लागेपछि उनी भुइँमा ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो । यसअघि टोकियोका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएका थिए । सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ। उनी प्रहरी हिरासतमा छन् । ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ । अस्पतालमा उनलाई रगत दिइएको थियो । आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।


शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन् । स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए । पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताए ।

योशिहिदे सुगा उनको उत्तराधिकारी बने। त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बने । जापानमा गोलीकाण्ड दुर्लभ मानिन्छ । जापानमा सन् २०१४ मा देशभरि केवल छ वटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए । जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ। उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ।