छानबिन समितिले भन्यो – विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत



बुटवल । छानबिन समितिले लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको निष्कर्ष निकालेको छ । समितिले शनिवार प्रतिवेदन मुख्यमन्त्री कूलप्रसाद केसीलाई बुझाएको छ । प्रतिवेदन बुझाउँदै समितिका संयोजक एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री घटनामा वलीको कमजोरी भएको बताए ।

प्रतिवेदनमा राज्यमन्त्रीजस्तो व्यक्तिले सर्वसाधारणको घरमा श्रीमती र छोरीसँग झगडा गर्नु कमजोरी भएको उल्लेख छ । रकम असुली गर्नको लागि घरमै भन्दा अन्य विकल्प नखोज्नु कमजोरी भएको उल्लेख छ । विमला र एकराज बस्नेतबीच ६ लाख २० हजार रुपैयाँ लेनदेन भएको बताइएको छ । घटनामा विमलाले दायित्व बिर्सेर काम गरेको उल्लेख गर्दे सरकाले कडा रूपमा सचेत बनाउनु पर्ने राय दिएको छ । 


राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना भण्डारी र छोरीलाई कुटपिट गरेकी थिइन् । उनले आवेगमा आएर बस्नेतको घरमा पुगेर मर्यादाविपरीत काम गरेको छानबिन समितिले ठहर गरेको हो ।

घटनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

शर्माले भने,‘प्रदेश सरकारको माननीय राज्यमन्त्री जस्तो व्यक्ति कुनै विवाहित व्यक्तिको घरमा गई निजको श्रीमती र बालबालिकासँग विवाद गर्नु पदीय मर्यादाअनुसार कमजोरी देखिन्छ । तर घटनास्थलमा असम्बन्धित व्यक्तिहरूको भीड जम्मा भई अतिरञ्जित गर्ने कार्य भएको हुँदा घटना सुनियोजित हो कि शंका गर्ने आधार देखिन्छ ।’

वलीले असार २१ गते घटनाको सहजीकरणका लागि भन्दै राज्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । नेकपा एमालेबाट निर्वाचित श्रीमान उत्तरकुमार वलीको निधन भएपछि बिमला तत्कालीन नेकपाबाट दाङ ३ को (ख) उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन् । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि वैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् ।