चीरहरण भएको भन्दै राप्रपाका चार नेताद्वारा पार्टी परित्याग



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका चार नेताले पार्टी परित्याग गरेका छन् । पार्टीमा आन्तरिक प्रजातन्त्रको चिरहरण भएको भन्दै नेताहरु दिलनाथ गिरी, श्याम तिमिल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलबार पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनीहरु चारै जना तत्कालीन राप्रपाको उच्च कार्यसम्पादन समिति सदस्य थिए । चार नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ’राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएका छौं ।’


राप्रपाको बृहत्तर हित र एकतामा आँच आउने गरी पार्टी नाम दुरुपयोग गर्दै भेला, छलफल र बैठक गरेको भन्दै उनीहरुलाई यसअघि राप्रपाले स्पष्टीकरण सोधेको थियो ।