चिनियाँ प्रधानमन्त्रीद्वारा जापानी पूर्वप्रधानमन्त्री आबेको निधनप्रति शोक व्यक्त



चीनका प्रधानमन्त्री ली खछ्याङले पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार भएको अकल्पनीय निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले जापानी प्रधानमन्त्री फुमिओ किशिदालाई समवेदना सन्देश पठाउँदै पूर्वप्रधानमन्त्रीे आबेको ‘अचानक र दुर्भाग्यपूर्ण’ निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

आफ्नो समवेदना सन्देशमा लीले भनेका छन्, “पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीन–जापान सम्बन्धको सुधार र विकासमा सकारात्मक योगदान गर्नुभयो । मैले उहाँसँग धेरै पटक भेटें र द्विपक्षीय सम्बन्ध प्रवर्धन गर्ने सन्दर्भमा सकारात्मक दृष्टिकोण राखें ।”


लीले चीन–जापान सम्बन्धको दिगो, सुमधुर र स्थिर विकासलाई बढाउन प्रधानमन्त्री किशिदासँग सञ्चार र सम्वादलाई सुदृढ बनाउन आफ्नो तत्परतासमेत उक्त सन्देशमा व्यक्त गरेका छन् ।