गैडा मारेको अभियोगमा १५ र १० वर्ष जेल बसेर छुटेका खाग तस्कर फेरि सोही अभियोगमा पक्राउ



काठमाडौँ । गैंडाको खाग तस्कर चितवनका रामकुमार प्रजा र बम बहादुर प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–१० घर भएका ४१ वर्षीय रामकुमारलाई असार १३ मा मकवानपुरबाट पक्राउ गरिएको हो । त्यस्तै कालिका नगरपालिका–९ घर भएका ४३ वर्षीय बमबहादुर प्रजा पनि सोही आरोपमा असार १६ मा धादिङको मलेखुबाट पक्राउ परेका हुन् ।

२०७७ कात्तिकमा उनीहरुले ४–४ वटा गैंडा मारेको चितवन राष्ट्रिय निकुञ्जले गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोले निकुञ्जलाई बुझाएको छ । आरोपीलाई जिल्ला अदालत चितवनमा उपस्थित गराइने निकुञ्जको कार्यालयले जनाएको छ । यसअघि गैंडा मारेर खाग तस्करी गरेको कसुरमा रामकुमार प्रजा १० वर्ष जेल बसेर छुटेका हुन् ।


उनी २०६० देखि २०७० सम्म जेल बसेर रिहा भएका हुन् । बमबहादुर प्रजा २०६० देखि २०७५ सम्म १५ वर्ष जेल बसेर छुटेका हुन् । जेलबाट छुट्नासाथ उनीहरु फेरि गैंडा शिकार गरेर खाग बेच्ने धन्दामा सक्रिय भएको अनुसन्धानबाट थाहा भएको छ । रामकुमार प्रजाका भाइ राजकुमारलाई प्रहरीले २०७१ मा मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । २८ वटा गैंडा मारेको कसुरमा अहिले उनी जिल्ला कारागार चितवनमा कैद भुक्तान गरिरहेका छन् ।