कोभिड महामारी बढेकाले सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले केही समयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताएका हुन् ।

उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताए । क्यान्सरजस्ता घातक रोगहरुको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।


प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिवद्ध रहेको पनि बताए ।

स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उनले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत सरकार गरेको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढंगले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदूपयोग गर्न नसकेको भन्दै वीर अस्पताल व्यवस्थापनको आलोचना गरे । उनले वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।