काहुँकोटकोटको पर्यटकीय सम्भावनाबारे बृहत् अन्तरक्रिया गरिने



कास्की । पोखराको नजिक रहेर पनि पर्याप्त सम्भावनाका बाबजुद ओझेलमा परेको काहुँकोटको पर्यटकीय सम्भावना सम्बन्धमा स्वतन्त्र पत्रकार सङ्घ नेपालले बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

यही साउन ६ गते गर्न लागिएको अन्तरक्रियामा काहुँकोटको पर्यटकीय आकर्षणका सम्पदाबारे जानकारी, स्थानीय समस्याको पहिचान, सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका र सम्बन्धित निकायले गर्नुपर्ने कामलगायत विषयमा छलफल गरिने सङ्घका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए । अन्तरक्रियाको निष्कर्षलाई लिपिबद्ध गरी सङ्घले पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारलाई समेत प्रतिवेदन बुझाउने कार्यक्रम रहेको उनले बताए ।


प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा जोड दिइने सङ्घका उपमहासचिव कल्याण पन्तले बताए । कार्यक्रममा सङ्घका २९ जिल्लाका ७५ जना सञ्चारकर्मीसहित पर्यटन विज्ञ, स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था र आमासमूहका प्रतिनिधि, होमस्टे सञ्चालक गरी करिब १५० जनाको सहभागिता रहने सङ्घका कास्की अध्यक्ष असफल गौतमले जानकारी दिए ।

पछिल्ला समयमा काहुँकोटमा विभिन्न पर्यटकीय पूर्वाधार बन्ने तयारीसमेत गरिएको छ । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको सक्रियतामा पोखरा महानगरपालिका वडा नं ११ स्थित उक्त स्थलमा कूल १७८ रोपनी क्षेत्रफलभित्र बुद्धमूर्तिसहितका संरचना निर्माण गर्न लागिएको हो । यस ठाउँमा विशाल बुद्धमूर्तिसहित ध्यानस्थल, स्तूप, पुस्तकालय, पर्यटन केन्द्रलगायतका संरचना निर्माण गरिने योजना छ ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि रु ७० लाख विनियोजन गरेको छ । यहाँस्थित धरहरा २०२६ सालमा निर्माण गरिएको हो । उक्त ठाउँ समुद्री सतहबाट एक हजार ४४३ मिटरको उचाइमा पर्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । यहाँ पोखराको चापापानीबाट लगभग साढे सात किलोमिटर लम्बाइको सडकमार्फत पुग्न सकिन्छ । बाइसे चौबिसे राज्यकालमा घले राजाको राज्य रहेको काहुँकोटमा कोट देउराली मन्दिर यहाँको महत्वपूर्ण तीर्थस्थल हो ।