कालोधनलाई सेतो बनाउन गभर्नरमाथि हमलाः प्रदीप ज्ञवाली



काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् ।

सोमबार काठमाडौँमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताएका हुन् ।


उनले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्नेकुरा मात्रै रहेको उल्लेख गरे । ज्ञवालीले आर्थिक हिसावले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी गरे ।

उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आमजनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘अर्को खतरनाक स्थिति कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो । हिजो उहाँहरुले हटाउने प्रयास गर्नुभएकै हो । जम्माजम्मी कारण के ? कसैले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट, श्रोत देखाउनुस् भन्यो श्रोत देखाउन सक्दैन । १७/१८ वटा फेक कम्पनीहरु छन् । अमेरिकामा सोध्दा ती कम्पनीहरु कुनैपनि महत्व छैन । यो श्रोत गलत हो भन्छ, मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरुन्त फुकुवा गर्नु । त्यो गर्न नमाने बापत् राष्ट्र बैंकमाथि हमला भएको हो ।’ ज्ञवालीले राज्य डरलाग्दो रुपमा विचौलियाहरुको नियन्त्रणमा जान थालेको बताए ।

उनले अहिलेको गठबन्धन सरकाराई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तिय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए ।

ज्ञवालीले सरकार विद्युतीय सवारीसाधन मुख्य शहरमा चलाउने कुरामा गैरजिम्मेवार भएर बसिरहेको आरोप लगाए । पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको बताए ।