काठमाडौँको सफाइका लागि थप १५० जना जनशक्ति परिचालन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहर सरसफाइका लागि थप  १५० जना जनशक्ति परिचालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएर जनशक्ति थपेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार यसअघि पनि नियमित सरसफाइ कामका निम्ति करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो । सहरी व्यवस्थापनमा गर्न साजिलो होस् भनेर नगर प्रहरी बललाई महानगरले ५ क्षेत्रमा बाँडेर परिचालन गरेको राईले बताइन् । पूर्व क्षेत्रमा वडा नम्बर छवटा वडा, पश्चिम क्षेत्रमा पाँचवटा वडा, उत्तर क्षेत्रमा सातवटा वडा र मध्य क्षेत्रमा १३ वटा वडा छुट्टयाइएका हुन् ।


सरसफाइमा सोही क्षेत्रको जनशक्ति परिचालन गरिएको सरसफाइ तथा अनुगमन शाखाका प्रमुख नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए ।

उनले भने,‘एउटा समूहमा २० देखि २२ जना सम्मलाई खटाइएको छ । रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरूको सफाइमा छुट्टै समूह बनाइएको छ। यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ।’

काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक÷एक जना नगर प्रहरीलाई कमाण्डर तोकिएको छ । यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरूवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन्।