कांग्रेस नेतृत्वलाई केन्द्रीय सदस्यको सुझाव- ‘गठबन्धन गरेरै चुनावमा जाँदा राम्रो’



काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मर्यादाक्रमको मस्यौदा पेस भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका कार्यक्रमहरुमा जाँदा कसको मर्यादाक्रम के हुने भन्ने विषयमा एउटा मस्यौदा पेस भएको बताए ।

बैठकले त्यस विषयमा पनि निर्णय गर्ने उनले बताए । बैठकमा मर्यादाक्रमका अतिरिक्त सोमबारकै छलफल जारी रहेको बताए। उलने भने,’समग्रमा यही समीक्षाका कुराहरु, आगामी दिनमा पार्टी कसरी अगाडि जानुपर्दछ भन्ने विषयमै छलफल केन्द्रित छ ।’


मंगलबार बोल्ने केन्द्रीय सदस्यहरुले गठबन्धनलाई अगाडि बढाउनुपर्ने बताएका छन् । समानुपातिक निर्वाचन प्रणाली भएकाले कसैको बहुमत नआउने भएकाले गठबन्धनको विकल्प नरहेको उनीहरुको भनाइ छ।

महतले भने,’स्थानीय तहको निर्वाचनलाई आधार मानेर कहाँ कमीकमजोरी रहे । गठबन्धन भएका ठाउँमा पनि कार्यान्वयनका सिलसिलामा के कस्ता कमीकमजोरी रहे। त्यसलाई पनि मध्यजनर राखेर साउनभित्रैमा गठबन्धनको टुंगो लगाउने र भदौभित्रमा पार्टीको टिकट टुंगो लगाइसक्नुपर्छ भन्ने साथीहरुको सुझाव छ।’

समयमा गठबन्धन र टिकटको विषय टुंगियो भने आफ्नो कुरालाई समयमै स्पष्ट ढंगबाट जनताको बीचमा राख्न सकिने र निर्वाचन परिणाम राम्रो आउने केन्द्रीय सदस्यहरुको धारणा छ ।

महतले पार्टीका नेताहरुले पार्टीभित्रका असन्तुष्टि या फरक मतका विषयहरुलाई केन्द्रीय समितिभित्रै कुरा राख्दा राम्रो हुने बताए। त्यसो हुँदा पार्टी एकता र लक्ष्यप्रति सबै एकजुट रहेको सन्देश जाने उनको भनाई थियो ।