एम. अधिकारी खोज्नेहरूलाई बस्नेतको जवाफ- एस. देउवा, पी. दाहाल र ए. राणा देउवा खाेज्नुस्



काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही हुनुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बस्नेतले एम अधिकारीबारे सांसद्हरुले गरेको टिप्पणीप्रति लक्षित गर्दै देउवा र प्रचण्डमाथि कारबाही हुनुपर्ने बताएका हुन् ।

बस्नेतले देशी/विदेशी शक्ति गुहारेर पालैपालो राष्ट्रपति र प्रधानमन्त्री बनेर राज्यको दोहोन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवालाई खोजेर कार्बाही गर्नु पर्ने हैन र ? भन्दै प्रश्न गरे। बस्नेतले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले ६ अर्बभन्दा बढी कमिसनको गडबड गरेको आरोप लगाए ।


उनले पेट्रोलियम पदार्थको भाउ, कालो बजारी, महंगीलाई प्रत्सोहन गर्ने डी बडूलाई समेत कारबाही गरिनुपर्ने माग गरे । उनले भने, ’पेट्रोलियम पदार्थको भाउ महँगिएर कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्तिमन्त्री कांग्रेस नेता डी. बडूलाई काबाही गर्नुपर्ने होइन र ?’ उनले कायममुकायम प्रधानन्यायाधीशलाई पनि कारबाही गर्नुपर्ने सुझाव दिए ।

उनले भने, ’प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरोध गरेर कामु खाइरहेका डी. कार्कीहरूलाई कारबाही गर्नुपर्ने होइन र ? एमसीसी पास गर्न व्याख्यात्मक टिप्पणी गर्ने र एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस. देउवा र एम. खड्कालगायतलाई कारबाही गर्नुपर्ने होइन र ?’