एमाले सांसदको जोड : ‘नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता’



काठमाडौँ । नेकपा एमालेका सांसद खगराज अधिकारीले सत्तापक्षले नागरिकता विधेयक पेलेर ल्याएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै अधिकारीले कोही नेपाली अनागरिक नहुन् भन्नेमा आफूहरु सचेत रहेको तर सरकारले यसमा ठेलमठेल गरेको बताएका हुन् ।

उनले राज्य व्यवस्था समितिले झण्डै पौने तीन वर्ष लगाएर निष्कर्ष निकालेको तर, अहिले सत्ताको लागि सिद्धान्त विर्सिएको उनले बताए । उनले भने,‘हामीले कुन–कुन कुरा नमिलेका हुन् समितिमा लैजाऔं भनेका थियौं । एक दिनमा छलफल गरौं र त्यही प्रतिवेदन पारित गरौं भन्दाभन्दै सत्ताले ठेलमठेल गर्यो । सामान्य नीतिहीन, सिद्धान्तहीन संविधानहीन, संविधानको मूलमर्मभन्दा बाहिर गएर फगत सत्ताका लागि हामीले हाम्रो सिद्धान्त विर्सन मिल्छ र ? नागरिकताको हकमा राष्ट्रिय स्वाधिनता हाम्रो हातमा छ । नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरिन् । तीनले अरु सबै अधिकार पाउँछन्, नागरिकताको पूर्ण अधिकार सात वर्षपछि पाउने प्रावधान राखौं ।’


त्यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हीतमा नभएको बताएका छन् । सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हीतमा नभएको बताए उनले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताए । नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उनले बताए ।

उनले भने, ‘नागरिकता विधेयक फाष्टट्रयाकबाट पारित गर्न खोजेको विषय देशको हीतमा छैन । सम्बन्धित समितिमा विधेयक पठाउनु जरुरी छ । र यो विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ ।’ उनले नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उनको भनाई थियो ।

आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उनले बताए । जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने उनले बताए ।

सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गरे । त्यस्तै नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने बताए ।