एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल



कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् ।

एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुनावले एमाले कमजोर नभएको बताए । अहिले पनि कम्युनिष्टको अनुहार एमालेभित्र मात्रै रहेको भन्दै उनले कम्युनिष्ट पार्टी मिलाउने सक्ने क्षमता एमालेसँग मात्रै रहेको बताए ।


कांग्रेसको सरकार छोडेर आए र विगतका कमजोरीमा गल्ती भएको महसुस गरे मात्र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सित चुनावी एकता हुनसक्ने उनको भनाइ थियो । एमाले कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, “पदका लागि भन्दा पार्टीलाई जिताउन लाग्नुपर्छ, सरकारका गलत कामको विरोध गरेर भण्डाफोर गर्दा एमालेले जित्छ, जनता एमालेसँग रिसाएका छैनन् ।”