एकवर्षमा दुई लाखले गरे चितवन राष्ट्रिय निकुञ्जको भ्रमण



चितवन । आर्थिक वर्ष २०७८/७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा एक लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए ।


एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक)ले निकुञ्जको भ्रमण गरेका थिए । सार्क मुलुकका नौ हजार १३० महिला र १० हजार ८४९ पुरुष तथा विदेशी ६ हजार ७८० महिला र आठ हजार २८ पुरुषले निकुञ्जको भ्रमण गरेको तिवारीले जानकारी दिए ।

गत आर्थिक वर्षको चैतमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २६ हजार २१८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २० हजार ८६९ नेपाली, दुई हजार २४८ सार्क मुलुकका र तीन हजार १०१ विदेशी नगारिकले निकुञ्जको भ्रमण गरेका थिए ।

निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ ।
एघार करोड राजस्व सङ्कलन

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट रु ११ करोड ४९ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ ।

निकुञ्जले पर्यापर्यटन शीर्षकबाट १० करोड २३ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । निकुञ्ज प्रवेशवापत प्रतिव्यक्ति नेपालीले १५०, सार्क मुलुकका पर्यटकले एक हजार र विदेशीले दुई हजार रुपैयाँ राजस्व बुझाउने गर्दछन् ।

गत वर्ष निकुञ्जले पर्यटकबाट सात करोड २९ लाख ४५ हजार, जिप सफारीबाट दुई करोड ७८ लाख ८० हजार तथा डुङ्गा सफारीबाट १५ लाख ७३ हजार राजस्व सङ्कलन गरेको तिवारीले बताए ।

त्यस्तै निकुञ्जले गैरकाष्ठ वन पैदावर (ढुङ्गा, गिट्टी तथा बालुवा) बिक्रीबाट ६९ लाख ४९ हजार, दण्ड सजायबाट ३२ लाख ११ हजार, काठ र दाउरा बिक्रीबाट सात लाख १७ हजार तथा अन्य शीर्षकबाट १७ लाख २० हजार राजस्व सङ्कलन गरेको थियो ।