उपेन्द्र यादव पक्षले गरेको कारबाही बाबुरामद्वारा खारेज, पार्टी पुनर्गठनमा जुट्न आग्रह



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षले गरेको कारबाही खारेज गरेका छन् । भट्टराईले शुक्रबार विज्ञप्ति जारी गरी यादव पक्षको कारबाही खारेज गर्ने र पार्टी पुनर्गठनमा जुट्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८–२९ गते सम्पन्न भएको छ । सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको तथ्य सबैसामु छर्लङ्ग छ । उता उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९–३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ । हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौंं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपील गर्दछौँ ।’


वीरगन्जमा भएको जसपाको केन्द्रीय समिति विस्तारित बैठकले बाबुराम भट्टराईसहित ९ जनालाई पार्टी हितविपरीत काम गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको थियो। बैठकले ९ जनालाई पदमुक्त गरेको थियो। बैठकले भट्टराईलाई जसपा संघीय परिषदको अध्यक्ष पदबाट हटाउँदै अशोक राईलाई नयाँ अध्यक्ष समेत चयन गरेको थियो।