ई–स्पोर्टसका लागि छुट्याएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर साह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरले ई—स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको स्पष्ट पारेका छन् ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसङ्गका बिषयमा ध्यानाकर्षण भएको छ जनाउँदै मेयर साहले, आधुनिक विश्वमा ई-स्पोर्टस विधा खर्बौँको आर्थिक योगदान गर्ने बिधाका रुपमा रहेको उल्लेख गर्दै नेपालमा यो खेलको व्यवसायिक पाटो बढ्दै गएको बताए । यही बर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ ।


यस खेलमा योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरु सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको उनले बताए । कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ ।

फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । मेयर साहले यस्ता विषयलाई बिषयलाई लिएर अतिरञ्जित नगर्न आग्रह गरेका छन् । यस विषयमा आफ्नो नाम जोडिएको प्रसङ्ग उल्लेख गर्दै मेयर साहले भनेका छन्, ‘नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।’