इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना जेल चलान



काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् ।

गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी शाक्य काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान भएकी हुन् । उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ । सहकारीको लेखा समिति सदस्यसमेत रहेकी शाक्यलाई तामाङले अंश दिलाएर अलग गराउन खोजे पनि ठगी मुद्दामा पक्राउ गरिएको थियो ।


बिहीबार राति ९ बजेसम्म अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले सहकारीबाट ठगिएको अर्बौं रुपैयाँ रकम लुकाउन शाक्यको पनि संलग्न भएको देखिएको भन्दै जेल चलानको आदेश दिएका थिए ।

तामाङले सिभिल सहकारीबाट बिनाधितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा श्रीमती सिर्जना शाक्य तामाङ र दुई छोरीलाई अंशबण्डा गरेकोसमेत खुलेको छ ।

१५ सय बचतकर्ताको करिब ६ अर्ब ठगी गरिएको उजुरी परेपछि गत १५ असोजमा श्रीमान तामाङ पक्राउ परेका थिए भने त्यसको करिब एक वर्षपछि श्रीमती शाक्य पक्राउ परेकी हुन् ।