काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । बैंकले एक सूचनामार्फत अपराह्न ४ बजे उक्त नीति सार्वजनिक गर्न लागिएको जनाएको हो ।
अर्थतन्त्रका केही सूचकमा समस्या देखा परेको तथा सरकारले चालु आर्थिक वर्षको बजेटमा लिएका नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर केन्द्रीय बैंकले नीति सार्वजनिक गर्न लागेको छ । अनुत्पादक क्षेत्रमा गइरहेको कर्जा प्रवाहलाई रोक्ने तथा बैंकको ब्याजदर बढ्न नदिन के कस्ता औजार प्रयोग गर्नेजस्तो विषयमा मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था गर्न लागिएको छ ।
सरकारले चालु आवमा आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएकाले त्यसलाई पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको उक्त नीतिका सम्बन्धमा बिहीबार साँझ अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताइएको छ ।