अर्थ मन्त्रालयले भन्यो- बजेटका बेलाको सीसीटीभी फुटेज मेटियो (पत्रसहित)



काठमाडौँ । अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेका बेला मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको बताएकाे हाे ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पाैडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न निवेदन दिएका थिए । सो निवेदनको जवाफ दिँदै अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले भनेको छ ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चत पहिलेको अभिलेख क्रमश: मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही ब्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु ।’