अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवा संघको प्रदर्शन



काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री जनार्दश शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले पम्प्लेटसहित अर्थमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।उनीहरुले ‘अर्थमन्त्री ज्यू, सीसीटीभी फुटेज गायब गर्ने को हो ?, ‘सेतो जुंगा, कालो मन, सीसीटीभी फुटाउने मै हो भन’ लेखिएको व्यानर बोकेर नारा लगाएका थिए ।


बजेट निर्माण गर्दा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रयोग गरिएको भन्दै अर्थमन्त्री शर्माको संसददेखि सडकसम्म विरोध चर्किएको छ । केही दिन अघि मन्त्रालयले सिसिटिभी फुटेज समेत मेटिएको भन्ने सूचना दिएपछि अर्थमन्त्रीमाथि थप प्रश्न उठेको छ ।

संसददेखि सडकसम्म अर्थमन्त्रीको विरोध भएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने तयारी गरेका छन् । संसदमा पनि नेकपा एमालेले लगातार अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताउँदै आएको छ।