अर्थमन्त्री विवादबारे संसदीय समिति बनाएर छानबिन गर्न कांग्रेस उपसभापति खड्काको माग



काठमाडौँ । नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणमा भएको घटनाबारे तत्काल छानबिन गर्न माग गरेका छन् । बुधबार सामाजिक संजालमार्फत उपसभापति खड्काले बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका हुन् ।

बजेट निर्माणको बेलाको विषय संसद र संसद बाहिर चासोको रुपमा हेरिएको भन्दै उनले यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन् ।


उनले भनेका छन्, ‘बजेट निर्माणको बेलाको बिषय समेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको बिषय बनी सकेपछि यो बिषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ । बिगतमा पनि संसदको यस्तो परम्परा छ । बरु ढिलो नगरौ संसदबाट आजै संसदिय समिति निर्माणको टुङ्गो लगाउँ ।’

कांग्रेस महामन्त्री गगन थापाले यसअघि नै अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाव दिइसकोका छन् । उनले स्वेच्छाले राजीनामा नदिए अर्थमन्त्रीविरुद्ध प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन् ।