हामीले जसरी बिद्रोह गरेका थियौं, त्यसको औचित्य पुष्टि भएको छः अध्यक्ष नेपाल



बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताएका छन् । शनिबार समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले च्याप्टर खुलेकै छैन भने बन्द भन्ने प्रश्न नै उठाउन नपर्ने बताए ।

उनले भने, ‘जब एमालेसँग एकताको च्याप्टर खुलेकै छैन भने बन्द कसरी भयो भन्ने ? बरु पार्टीमा हामीले जसरी जुन कारणले बिद्रोह गरेका थियौं त्यसको औचित्य पुष्टि भएको छ।’ राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु भन्ने नहुने भन्दै अध्यक्ष नेपालले आफूहरुको मुख्य शत्रु नोकरशाही पूँजीवाद भएको बताए ।


उनले नेकपा माओवादी केन्द्रसँग एकता गरेर प्रचण्ड अध्यक्ष र माधव नेपाल प्रधानमन्त्री बनाउने भन्ने समाचारमा सत्यता नभएको बताए । उनले कम्युनिष्ट पाटीले नै राष्ट्रको निकास दिन सक्छ भनेर कम्युनिष्ट पार्टीहरुमा एकताको सम्भावनाका बारे छलफल गरिरहेको बताए । उनले भने,‘नेपालले पछिल्लो समय तत्कालीन नेकपालाई बिउँताउन सकिन्छ की भनेर छलफल भइरहेको छ ।

नेपालको राजनीतिक परिवर्तनमा वामपन्थी शक्तिको ठूलो हात रहेको छ त्यसैले ति शक्तिलाई छिन्न भिन्न हुन नदिन केही गर्न सकिन्छ की भन्ने छलफल भएको छ त्यो निरन्तर चलिरहन्छ ।’ खनेपालले पाँच दलिय गठबन्धन मिलेर जानुपर्छ भन्नेमा आफूहरु स्पष्ट रहेको भन्दै गएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले अधिकांश सिट शानदार मतका साथ जितेको बताए ।