‘हनी ट्रयाप’ मा संलग्न भएको आरोपमा श्रीमान-श्रीमतीसहित तीन जना पक्राउ



काठमाडौँ । प्रहरीले काठमाडौंबाट ’हनी ट्रयाप’ मा संलग्न आरोपमा तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भई बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरी खड्का र वडा नम्बर ४ घर भई बालकोट बस्दै आएका २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले पीडितलाई सामाजिक सञ्जाल प्रयोग गरी सम्पर्क गर्ने गरेको र पछि ती व्यक्तिलाई प्रत्यक्ष भेटी झूटा मुद्दा लगाइदिन्छु भन्ने गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।


पक्राउ परेका बस्नेत र कार्की श्रीमान–श्रीमती हुन् । प्रहरीका अनुसार अनुसार उनीहरूले विभिन्न संस्थानबाट लाभ लिने उद्देश्यले विभिन्न समूहका महिला र पुरूषहरूसँग सामाजिक सञ्जालमा जोडिएर पछि उनीहरूलाई फसाउने गरेको आरोप छ ।