सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनु पर्छ : शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले सरकारले राष्ट्रियसभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् ।

उनले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर बिरोध गरेको भन्दै सो विधेयक लैजानु नहुने बताए । त्यस्तै उनले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्न नहुने बताए । सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उनले बताए ।


उनले भने, ‘नेपाली काँग्रेसले धेरै पहिले मलाई सम्झना छ, २०७८ सालमै ओलीजीको पालामा नै यो गलत प्रक्रिया हो । यसरी गर्नु हुँदैन भनेर भनेको । त्यो विधेयक लग्नै हुँदैन । त्यो त त्यसै फिर्ता गर्नुपर्यो । नागरिकतासम्बधी विधेयकमा हामीले राजनीति गर्नु हुँदैन । यसमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर नागरिकता दिनैपर्छ । नागरिकतामा पनि हामी राजनीति गर्छौं । आमा र बुबा दुवै यो देशको जन्मसिद्ध नागरिक छन् । तर उनका छोराछोरी नहुनु भएको यो त एकदम दुर्भाग्य हो । यसलाई छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी छ ।’