सङ्घीयताको विकल्प सोच्नु हुँदैन : उपाध्यक्ष शाक्य



लमजुङ । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सङ्घीय लोकतन्त्रिक, गणतन्त्र नेपाल भनेर संविधानमै लेखिसकेको र अहिलेको आवश्यकता नै सङ्घीयता भएकाले विकल्प सोच्न नहुने बताएकी छन् ।

एमाले जिल्ला शाखा लमजुङद्वारा आज बेँसीसहरमा आयोजित प्रशिक्षणमा उनले भनिन्, “अहिले आएर यदाकदा सङ्घीयता चाहिँदैन भनेर सङ्घीयता कमजोर बनाउन धेरै खर्च भयो, अप्ठ्यारो भयो भन्दै अनेकौँ टिकाटिप्पणी उठाउँदै सङ्घीयता विरोधी सक्रिया हुन थालेका छन् । काम गर्ने ढङ्ग, शैली, पारदर्शिता भएको भए त सङ्घीयता नराम्रो लाग्दैन थियो होला नि ।” देशको विकासका लागि सङ्घीयता नै अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।


त्यस्तै एमाले उपमहाचिव पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा एमालेले ५१ प्रतिशत सिट जित हासिल गर्न सकेमा एमालेले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुने बताए । आगामी निर्वाचनमा एमालेको बहुमत ल्याउनका लागि सबै कार्यकर्ता नेता एकजुट भएर लाग्नलाई उनले आग्रह गरे । त्यस्तै स्थानीय निर्वाचनमा आफ्नै पार्टीमाथि डोजर चलाउनेहरूलाई कडा कारबाही गर्ने एमाले उपमहासचिव गुरुङले भने ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, टुकाभद्र हमाल, केन्द्रीय कार्यालय सचिव भीष्मनाथ अधिकारी, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दबाडी, प्रदेश सदस्य मोहनहरि पौडेललगायतले प्रशिक्षण दिएका थिए ।